स्थानीय तह निर्वाचन अन्र्तगतको समीक्षा कार्यशाला सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले मिति वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको प्रदेश स्तरीय तथा केन्द्रीय स्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासहरूको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावहरूको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको थियो । यसै गरी हिजो र आज दुई दिन काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको आयोजना गरिएको हो ।
पाँच विभिन्न समूहबाट तयार पारी समूहगत प्रस्तुति पश्चात् कार्यशालाको समापन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस कार्यशालाबाट प्राप्त भएका सुझावहरूमध्ये आयोगबाट गर्न सकिने अधिकांश सुझावलाई अब आउने संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । आयोगले निर्वाचन आयोग सम्बन्धी विधेयक एवं निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न लागेको बताउँदै उनले कार्यशालाबाट आएका सुझावलाई यी विधेयकमा समेटेर लैजाने समेत प्रतिबद्धता जनाए ।
कार्यशालामा आयोगका निर्वाचन आयुक्तहरू, सचिव, सह सचिव, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, आयोगले खटाएका अनुगमन टोली संयोजक, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पर्यवेक्षण संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, आम सञ्चारकर्मी, आयोगका कर्मचारी एवं कार्यशाला सम्बद्ध सरोकारवालाहरू लगायतको सहभागिता रहेको थियो ।