४ श्रावण २०८१, शुक्रबार Friday 19 July, 2024

प्रचण्डलाई भेटेर राजेश हमालले भने- ‘गणतन्त्रलाई संस्थागत गरेर विकासको बाटोमा लाग्नुपर्छ’

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । चर्चित अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । अभिनेता हमाल शुक्रबार  विहान प्रचण्डलाई भेट गर्न उनको निवास खुमलटारमा पुगेका हुन् ।

त्यसक्रममा अभिनेता हमालले आफु राजनीतिमा आउने सक्ने बताएका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक विषय, फिल्म क्षेत्र र राष्ट्रियरअन्तर्राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । प्रचण्डसँगको भेटमा अभिनेता हमालले आफूलाई राजनीतिमा रुचि भएको बताएका हुन् ।

गायक तथा संगीतकार चेतन सापकोटाले सो भेटको चाँजोपाँजो मिलाएका थिए । सुरुमा सामूहिक रूपमा भेटवार्ता भए पनि पछि प्रचण्ड र हमाल एक्लाएक्लै २० मिनेट छलफल गरेका थिए ।

‘दुवै जनाको अहिलेसम्म भेट भएको रहेनछ । प्रचण्डले हमाललाई सुरुमै यो देशको बारेमा चिन्तन, बुझाइ के हो भनेर सोध्नुभयो । तपाईंलाई म ४/५ वर्षअगाडि देखि नै भेट्न चाहन्थें’, प्रचण्डको भनाई उद्धृत गर्दै सापकोटाले भने । हमालले देशले अपेक्षित प्रगति गर्न नसकेको तर गणतन्त्रपछि दलित महिलाका मुद्दाहरु जुन स्थापित भए त्यसलाई संस्थागत रूपमा अगाडि बढेर समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने बताएका थिए । ‘राजनीतिक किचलो गर्नुहुँदैन । गणतन्त्रलाई संस्थागत गरेर सबै मिलेर देश विकासको बाटोमा लाग्नुपर्छ भन्नुभयो’, उनले भने ।

हमालले राजनीतिमा तत्काल प्रवेश गर्ने नबताए पनि राष्ट्रको सेवाका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताएको सापकोटाको भनाई छ । ‘राजनीतिमा आउन सक्दिनँ भन्ने पनि होइन आउन पनि सक्छु म। राजनीतिबाट नै देशको नीति बन्ने हो । मेरो राजनीतिमा घृणा छैन भन्नुभयो’ उनले भने, ‘प्रचण्डले हमाललाई हाम्रो पार्टीमा आउनुस्, टिकट दिन्छु भन्नु भएको होइन ।’

यतिबेला चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि कलाकारहरुको दौडधूप चलिरहेको छ । हमाल र प्रचण्डबीचको यो भेटलाई अर्थपूर्ण मानिएको छ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला आज बिहान राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

 

प्रतिक्रिया सबै