४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक छ : प्रधानमन्त्री

 शनिबार, असार १८ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेर देउवाले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताए ।

गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दुइटा रनवेसहित विमानस्थल बनाउने बताए । ‘त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं’, उनले भने ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताए । ‘अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन । विमानस्थल बन्छ । निजगढ एयरपोर्ट राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो’, उनले भने ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिए । विमानस्थल बनाउन अदालतबाट पनि बाटो खुलेको उनले बताए । ‘अदालतबाट यसको बाटो खुला भएको छ । प्राकृतिक स्रोत साधनको कम क्षतिसहित विमानस्थल बनाउनुपर्छ’, उनले भने ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताए । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत विभिन्न विभागीय मन्त्रीहरू पनि निजगढ पुगेका हुन् ।

 

प्रतिक्रिया सबै