नेपाली किसानले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या हुँदैन : ओली (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छ्न । उनले किसानले उत्पादन बढाएमा बजारको कुनै समस्या नहुने बताए ।
शनिवार अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भारत र चीन जस्तो विशाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए ।
अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने अध्यक्ष ओलीले सुझाव दिए ।
परम्परागत खेती किसानबाट भन्दा औषधीय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेती गर्नतर्फ लाग्नु पर्ने ओलीको भनाई थियो ।
‘कसरी ४९ अर्बको चामल आयात भयो ?’
ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको बताएका छन् ।
६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको अध्यक्ष ओलीले बताए । हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको उनको भनाई थियो ।
उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकोले यो स्थितिलाई बदल्नुपर्ने उनले बताए । ‘बाहिरको खाद्यान्न आयात वृद्धिका लागि हो कि खाद्यान्नमा आत्मनिर्भर हुन नदिनका लागि हो कि वा छुद्र कमिसनको खेलका लागि हो कि ?’, उनले भने ।
हरेक वर्ष किसानलाई चाहिने जति मल आयात नहुने गरेको अध्यक्ष ओलीले बताए । वर्षायाममा मल चाहिन्छ भन्ने कुरा थाहा भएपछि ६ महिना अघि नै किन तयारी नगरेको भन्दै उनले प्रश्न गरे । संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले मलको अभाव नहुने बताए पनि मल नल्याएर झुक्याउने काम गरेको बताए । उनले किसान महासंघका प्रतिनिधिहरूलाई कृषकहरूको उत्पादकत्व वृद्धि गर्ने कार्यमा सहयोग गर्न आग्रह पनि गरे ।
कृषि मन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ
अध्यक्ष ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले राजीनामा दिनुपर्ने बताए । रोपाईंका बेला किसानलाई मल दिन नसक्ने मन्त्रीको अर्थ नहुने भन्दै राजीनामा दिनुपर्ने बताए ‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ के हेरेर बसेको ?’, उनले भने ।
कृषिमन्त्रीको मुख्य काम नै मल, बीउविजन दिनुपर्ने भन्दै अध्यक्ष ओलीले झण्डा हल्लाउ भनेर मात्र मन्त्री नबनाएको बताए । ‘झण्डा हल्लाउ भनेर मन्त्री बनाएको कि किसानलाई मल बिउ देउ भनेर बनाएको ?’ उनले प्रश्न गरे, ‘पिर्कामा सलामी खान मन्त्री बनाएको हो रु कृषि मन्त्रीले किसानका लागि काम गर्नुपर्यो, किसानको समस्या हेर्नुपर्यो ।’ ओलीले सरकारले बुझ्ने गरी कदम चाल्न किसान महासंघलाई निर्देशन पनि दिएका छन् ।
भिडियो