खोटाङको रावाबेँसीमा पहिरोले एक घर बगायो, ११ घर उच्च जोखिममा

काठमाडौं । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरोले एक घर बगाएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो ।
उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन । रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयवासीको भनाई छ ।
११ घर उच्च जोखिममा
वडाध्यक्ष चिरञ्जीवी कार्कीका अनुसार कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको छ ।
‘पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै घर उच्च जोखिममा छन्’, उनले भने, ‘जोखिममा परेकालाई अन्यन्त्र सार्ने तयारी भइरहेको छ ।’
पहिराले गर्दा स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन् । चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिराले लाखौँको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीको भनाइ छ ।
यस्तै वर्षासँगै परेको चट्याङले बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित कोठालेका रामबहादुर राउतका श्रीमती ४६ वर्षीया चन्द्रमाया राउतको मृत्यु भएको छ । गएराति घरैमा सुतिरहेको अवस्थामा गोठमा परेको चट्याङको झड्काले लाग्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक राउतको शव परीक्षण गर्न चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । घर नजिकैको गोठमा परेको चट्याङले मृतक आमासँगै सुतेकी १६ वर्षीया छोरी यशोदा भने सामान्य घाइते भएको उनले बताए ।