अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने यदि अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए । यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि उनको भनाई थियो ।
‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसबारे एक्सनमा जानुपर्छ। यत्रो विषय संसदमा उठ्यो बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ । यदि राजीनामा नदिने हो भने प्रधानमन्त्रीजीले हटाएर तत्काल छानबिन गर्नुपर्छ’, उनले भने ।
सीसीटीभी फुटेज डिलिट गरिएको विषयमा प्रश्न उठाउँदै उने भने, ‘हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ। त्यसमाथि पनि बजेट यो संसदले पारित गरेको छ । करको दर हेरफेर सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन। यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन। यस्तो गर्यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ। र, जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ ।’
महामन्त्री थापाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए। उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरुले अनौपचारिक रुपमा भनिसकेको बताए । ‘प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने छानबिनपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो। दोषी होइन भने देश र जनतालाई थाहा भयो। होइन रहेछ भन्ने थाहा भयो’, उनले भने ।