३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

 बुधबार, असार २२ २०७९  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनमा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै उनले आफु एउटा होइन, हजार सबैखाले छानबिन समिति सामना गर्न तयार रहेको बताए । बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी गर्दै उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको बताए ।

‘बजेट निर्माण गर्दा कुनै त्रुटी गरेको छैन, स्थापित मूल्य मान्यताका आधारमा बजेट निर्माण भएको छ । करको दररेट हेरफेर गर्ने विषयमा दुईवटा सचिवलाई नीतिगत निर्देशन गरेको छु,’ उनले भने, ‘म जेठ १४ गते बेला साढे ११ बजे क्वार्टर पुगेर सुतेको र जेठ १५ गते विहान ६ बजे मन्त्रालय पुग्दा सचिवहरु काम गरिरहनुभयो।’

नेपालमा सुपारी, केराउ र मरिचको तस्करी बन्द गरेको तर्क गर्दै आयात प्रतिस्थापन गर्ने गरी बजेट ल्याएको उनले बताए । ‘लाखौं डलर खर्च गरेर तस्करी मौलाउने गरी खोलिएका सुपारीहरु अब तस्करी हुन बन्द भएका छन् । अब नेपालमा तस्करी हुनै सक्दैन’, उनले भने ।

केराउ र मरिचको पनि तस्करी बन्द हुनेगरी करको दायरा बढाएको उनले बताए । ‘केराउ र मरिचको तस्करी बन्द हुनेगरी करहरूको दायरा बढाएको छु । के नेपालमा तस्करी बन्द हुनु अनैतिकता हो ? तस्करी घटाउनु अनैतिकता हो ?’, उनले भने । विगतमा भएका घटनालाई ध्यान दिँदै तस्करी बन्द गर्ने काम आफूले गरेको उनले बताए । ‘विगतमा कसरी सुपारीको तस्करी भएका थिए, मैले बन्द गरेको छु। ती कुराहरु कसरी गलत हुन सक्छन् ?’, उनले भने । मन्त्री शर्माले बोल्दै गर्दा एमालेले भने संसद बैठक बहिस्कार गरेको थियो । एमाले सांसद योगेश भट्टराईले समय लिएर बोल्दै शर्माको राजीनामा मागेका थिए ।

मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत जेठ १४ गते अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा लगेर करका दरमा व्यापक हेरफेर गरेको आरोप लागेको थियो । ती व्यक्ति अर्थमा छिर्दाको समयको सीसीटीभी फुटेज पनि १३ दिनमै डिलिट भएको जवाफ दिएपछि शर्मा झन् विवादमा तानिएका थिए । नेपालको कानुनले सार्वजनिक स्थान र सरकारी कार्यालयको सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने भनिएको छ ।

यो पनि

अर्थमन्त्रीको प्रश्न- मैले संसदमा बोल्ने नैतिकता कसरी गुमाए ?

 

प्रतिक्रिया सबै