६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

चितवनमा हैजाको जोखिम उच्च

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ ।

यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौंडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।

भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिन्छन् । उनको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनले सुझाव दिए ।

पौडेलले भने, “पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।” हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउनुपर्ने उनले बताए । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

लगातार पातलो चौलानी पानीजस्तो दिसा हुने, पेट दुख्ने, कसै कसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सक कहाँ जान उनले सुझाए ।

सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउछन् । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उनले बताएस् । ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको उनले जानकारी दिए ।

 

 

प्रतिक्रिया सबै