१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

चीनका वरिष्ठ नेता लिउ जियान्चाओ नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता गर्ने

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणमा आउने भएका छन् । लिउ चार दिने नेपाल भ्रमणका लागि आगामाी आइतबार आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालयले प्रमुख राजनीतिक दलसँग समन्वय गरिरहेको छ ।

नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने छन् ।

एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन् । लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गरेका थिए ।

उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै भिडिओ कुराकानी गरेका थिए । लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन्। चीनमा उनको हैसियत मन्त्रीसरह हुन्छ । ५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कुटनीतिज्ञ हुन्। गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए ।

तत्कालीन विदेश विभाग प्रमुख सोङ् थाओको स्थानमा लिउ नियुक्त भएका हुन्। त्यसैले हुन लागेको उनको नेपाल परिचयात्मक भनिएको छ । तर जानकार सरकारी अधिकारीहरुका अनुसार चिनियाँ वरिष्ठ नेताको भ्रमणमा पार्टीगत, द्विपक्षीय र भूराजनीतिक गरी तीन आयाम छन् ।

के-के छन् लिउका भ्रमण एजेण्डा ?
— नेपाल भ्रमणमा लिउ जियान्चाओले नेपालका राजनीतिक दलसँग सिपिसीको सम्बन्ध विस्तार ।

— बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) फ्रेमवर्क भित्र रहेर चिनियाँ सहयोगमा रेल र सडक जस्ता विकास परियोजनामा अघि बढाउने ।

— नेपालको ढिलाइबारे यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्ने

— नेपालका वामपन्थी दलबीच चुनावी तालमेल सम्भावनाबारे अध्ययन गर्ने ।

को हुन् लिउ ?
लिउ सन् २००६ देखि २००९ सम्म चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता थिए । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका लिउ राम्रो अंग्रेजी बोल्छन्। फिलिपिन्स र इन्डोनेसियामा राजदूत भएर उनी सन् २०१५ मा बेइजिङ फर्केका थिए।

सन् २०१८ मा उनी चीनको केन्द्रीय विदेश मामिला आयोग कार्यालयको निर्देशक नियुक्त भएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गर्ने उक्त आयोग विदेश मामिलाबारे निर्णय लिने प्रमुख निकाय हो । चिनियाँ विदेश मन्त्रालयले मुलुकको औपचारिक विदेश सम्बन्ध सञ्चालन गर्ने भए पनि चिनियाँ कम्युनिस्ट पार्टीको पनि उत्तिकै भूमिका हुन्छ ।

प्रतिक्रिया सबै