के हो नाइरोबी फ्लाई ? कसरी संक्रमण गराउन सक्छ ?

काठमाडौं । नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु (किरा) हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भन्छिन् । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिने अस्पतालका छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले बताउँछन् ।
चिकित्सकहरुका अनुसार यो किराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गर्छ । डा. पुडासैनी भन्छन्, ‘यो किराले टोक्दैन । यदि यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ । लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जान्छ । तर‚ धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खत बस्न सक्छ ।’
किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले लक्षणहरू देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ । यस्तै सिक्किमलगायत पूर्वी नेपाल तथा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा यो देखिएको छ ।
दुई जना नाइरोबी फ्लाईको लक्षण लिएको बिरामी सम्पर्कमा आएको धनगढीको माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताए । उनका अनुसार त्यस्तै खालका लक्षणहरु उनीहरूमा पनि पाइयो तर जटिल पाइएन ।
धेरै बिरामीहरू यसलाई जनै खटिरा, मंकीपक्सको लक्षण हो भनेर झुक्किने गरेको चिकित्सकहरु बताउँछन् ।
लक्षण
— जनै खटिराजस्तो फोका आउने ।
— ठूलो खालको पानी फोका आउने ।
— पीप फोका आउने ।
—छाला रातो हुने ।
—पोल्ने।
— रातो दाबर तथा बिमिरा आउने ।
— रातो धर्सेखालको एलर्जी हुने ।
यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरु निक्लन सक्दछ साथै कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्ने चिकित्सकहरूको भनाई छ । नाइरोबी फ्लाईले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ ।
सावधानी कसरी अपनाउने ?
यो किरा देखिनेबित्तिकै किरालाई हातले नछोई पत्रिका वा अरु चिजले किरालाई हटाई छोइएको ठाउँमा साबुन पानीले सफासँग पखाल्नुपर्ने
छालारोग विशेषज्ञ डा. पुडासैनीले बताए । किरा माड्नुभएन । देख्नेबित्तिकै फाल्ने, बेटाडिन हालेर किरा बसेको ठाउँमा सफा गर्ने, किराले संक्रमण गराइसकेमा नआत्तिने र यदि बढी नै चिलाए वा पोलेमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
— फूल बाहुले लुगा लगाउने ।
— झूल लगाएर सुत्ने ।
— सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने ।
— फोहोरमैला हुन नदिने ।
— पोलेमा चिसो आइसले सेक्ने ।
— धेरै नै दुस्ख दिएमा नजिकको स्वास्थ्यसंस्थासँग सम्पर्क गर्ने आदि ।