अश्लिल तस्वीर देखाएर पूर्वप्रेमिकालाई ब्ल्याकमेल गर्ने १ जना पक्राउ

काठमाडौं । अश्लिल तस्वीर देखाएर पूर्वप्रेमिकालाई ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–१४, धादिङका ३२ वर्षीय टिकाराम नेपाली रहेको प्रहरीले जनाएको छ । उनी नेकपा एकीकृत समाजवादी पार्टीका धादिङ जिल्ला कमिटी सदस्य पनि हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार नेपालीलाई बिहीबार साँझ साढे ५ बजेतिर ठमेलको होटल एक्सेसबाट पक्राउ गरिएको हो । नेपालीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित नेपालीका पूर्वप्रेमिका हुन् ।
प्रहरीका अनुसार सम्बन्ध राम्रो हुँदा उनले ती युवतीको अश्लिल तस्वीर खिचेर राखेका थिए । त्यही तस्वीर परिवारका सदस्यलाई पठाइदिने भन्दै धम्क्याएर उनले पीडितलाई बलात्कार गरेको आरोप छ ।
पीडित युवतीले आफू बलात्कृत भएको भन्दै एकजना नजिककी साथीलाई खबर गरेकी थिइन् । उनैले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् ।
त्यसपछि प्रहरी वृत्त, लैनचौरको टोली पुगेर नेपालीलाई नियन्त्रणमा लिएको थियो । र, पीडितलाई उद्दार गरेको थियो । साँझ नै उनको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण पनि भएको प्ररीले जनाएको छ ।