जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।
गोली प्रहारबाट शुक्रवार निधन भएका जापानी पूर्वप्रधानमन्त्री आवेको निधनमा शनिवार राष्ट्रिय शोक मनाउने शुक्रवारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
यस्तै, सरकारले घटना निन्दनीय भएको भन्दै भर्त्सना पनि गरेको छ । नेपालका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र आवेको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् ।
देउवले ट्वीटमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुस्खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’
एमाले अध्यक्ष ओलीले पनि आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल(जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दुस्खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’