१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

स्थानीय निर्वाचनमा अन्तर्घातबारे छानबिन गर्न माओवादीले बनायो समिति, अरु के-के भयो निर्णय ?

 शनिबार, असार २५ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिनका लागि समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

तीन सदस्यीय समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले अन्तरघातबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।

अखिल क्रान्तिकारीको विवाद हल गर्न सुझाव समिति गठन
त्यस्तै, विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न सुझाव समिति गठन गरेको छ । स्थायी कमिटी बैठकले पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

प्रवक्ता महराका अनुसार समितिको सुझावका आधारमा स्थायी कमिटीले निर्णय गर्नेछ । ‘विद्यार्थीमा देखिएको समस्या हल गर्न उहाँहरुले सुझाव दिनुहुन्छ । स्थायी कमिटीले निर्णय गर्छ’, प्रवक्ता महराले भने । अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

साउन १८ देखि सबै प्रदेशमा माओवादीको प्रशिक्षण
त्यस्तै, माओवादीले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आजको बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण दिने निर्णय गरेको हो ।

प्रवक्ता महराका अनुसार साउन १८ गते गण्डकी, २० गते प्रदेश–१, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण दिइने छ । साउन २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय गरिएको प्रवक्ता महराले स्काई न्युजन नेपाललाई जानकारी दिए ।

त्यस्तै, प्रदेश र प्रतिनिधि सभाको आसन्न चुनावका लागि प्रदेश समन्वय समिति गठन गरिएको छ । प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ । यसमा केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी रहने महराले बताए ।

प्रतिक्रिया सबै