५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो : माधव नेपाल

 शनिबार, असार २५ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले देशलाई विभिन्नखाले संकटबाट बचाएको दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनले संसद, संविधान, लोकतन्त्र, गणतन्त्रदेखि लिएर विदेशी सैन्य रणनीतिको हिस्सा बन्नबाट बचाएको उनको भनाई छ ।

‘पाँचदलीय गठबन्धनको सरकारले यो देशका विभिन्नखाले संकटबाट जोगाउँदै जोगाउँदै अगाडि बढिरहेको । हामीले जनतालाई अन्धराष्ट्रवादी होइन, सच्चा देशभक्त बनाउन लागिरहेका छौं’, अध्यक्ष नेपालले भने ।

एमसीसी र एसपीपीजस्ता कठिन विषयमा पनि गठबन्धनको सरकारले देशलाई जोगाएको उनले बताए । देश–देश आफ्ना स्वार्थ हुने र उनीहरूले आफ्ना हिस्सामा लैजान खोज्ने उनको भनाई छ ।

‘तर, हामीले कसैको पक्षमा जाँदैनौं भनेका छौं । हामी ठीकरबेठीक छुट्याएर अघि बढेका छौं’, उनले भने, ‘एसपीपी, एमसीसीको विषयमा धेरै चर्चा परिचर्चा भए । एमसीसीलाई व्याख्यात्मक घोषणाबाट पास गरेर संसदको अंग बनायौं ।एसपीपीको विषयमा विगतमा केही भए पनि सैन्य रणनीतिको अंग बन्दैनौं भनेर प्रस्ट पारिसकेका छौं ।’

जनतालाई समेत ठीक र बेठीकको पहिचान गर्न समर्थ बनाउनुपर्ने अध्यक्ष नेपालले बताए । ‘ठीकको समर्थन गर्ने, बेठीकको आलोचना गर्ने सामर्थ्य भएको जनता बनाउनुपर्छ । ताकि नेपालीहरू इमानदार छन्, जानकार छन् र ठीक÷बेठीक छुट्याउन सक्छन् भन्ने पार्नुपर्छ’, उनले भने ।

गठबन्धनले संविधान जोगाउने, अस्थिरताबाट देश बचाउने काम गरेको पनि उनले बताए । ‘यसैगरी गणतन्त्र र लोकतन्त्रको रक्षा भएको छ’, उनले भने ।

प्रतिक्रिया सबै