१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

निर्वाचनमा हुने विकृति अन्त्यका लागि अभियान चलाउन युवालाई सभामुखको आग्रह

 आइतवार, असार २६ २०७९  

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले निर्वाचनमा हुने सबैखालका विकृति र विसंगति अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा परिषदद्वारा आयोजित चार दिने संघीय नमुना युवा संसद अभ्यास उदघाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै सभामुख सापकोटाले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको बताए । सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरेका छन् ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको हलमा नमुना युवा संसद अभ्यास सुरु भएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार नमुना युवा संसद अभ्यास कार्यक्रममा सातवटै प्रदेशबाट ८५ जना युवा सहभागी भएको हो । बस्नेतले १६–२४ वर्ष उमेर समूहका समावेशी युवाहरुलाई नेतृत्व विकास गर्न नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख रमाकान्त सापकोटा र मध्यपुर ठिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठले युवाहरुलाई स्वरोजगारको बाटोमा लाग्न अपिल गरेका छन् ।

प्रतिक्रिया सबै