सशस्त्र प्रहरीद्वारा लाखौ मुल्यको सामान बरामद

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका-५ धर्मौलीबाट असार २४ गते सशस्त्र प्रहरीले करीब ७ लाख ८ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र मातहत युनिटहरुबाट खटिएको प्रहरीले २ सय ३६ बोरा चिनी बरामद गरेको हो ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देव प्रसाद पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले असार २५ गते करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा विभिन्न सामान बरामद गरेको छ ।
अवैध रुपले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सामान सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट बरामद गरेको हो ।
त्यसैगरी, झापा जिल्लाको मेचीनगर नगरपालिका-६ मेचीडाँडास्थित सीमा ईलाकाबाट असार २४ गते सशस्त्र प्रहरीले करीब १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको २ सय ५० के.जी. सुपारी बरामद गरेको छ ।
नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागेको अवस्थामा सुपारी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो । सुपारी लैजाँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त सुपारी सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।