अपहरण गरेको अभियोगमा १ जना पक्राउ

काठमाडौं । चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा बिहिबार राति प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैन हुन् ।
प्रहरीका अनुसार बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई नदेखेपछि खोजी गर्ने क्रममा पीडितको आफन्तलाई अपरिचित ब्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका भन्दै २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा रकम नल्याएमा र फिरौती मागेको कुरा कसैलाई भनेमा बच्चाको ज्यान मार्ने धम्की दिएको थियो ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा राजपुर नगरपालिका-१ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको पसल नजिकबाट ती बालिकाको उद्दार गरेको थियो । साथै उक्त कार्यमा संलग्न हुसैनलाई घटनामा प्रयोग गरेको बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत रौतहटबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।