१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण

 आइतवार, असार २६ २०७९  

काठमाडौँ। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण गरएको छ । जापानको राष्ट्रिय प्रसारक संस्था एनएचकेले आइतबार मतदानमा सहभागीसँग गरेको सर्वेक्षणबाट यस्तो प्रक्षेपण गरेको हो ।

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा विजय हुने एनएचकेको सर्वेक्षणले देखाएको छ । यो यसअघि उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो ।

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिएका छन् ।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानिएको थियो । उक्त घटनामा सख्त घाइते भएका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पताल पुर्‍याइएको थियो ।

तर गोली लागि अत्यधिक रक्तश्राब भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो ।

यस आक्रमणले राष्ट्रलाई ठूलो झट्का लागेको र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तस्वीर- न्यूयोर्क टाइम्स

प्रतिक्रिया सबै