राज्यको व्यबहार होस्टेल वार्डेन जस्तो होइन, आमा जस्तै हुनुपर्छ : बिमला विक

काठमाडौं । नेकपा एमालेका सांसद बिमला विकले राज्यले आमाको जस्तै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद विकले राज्यको व्यबहार होस्टेल वार्डेन जस्तो नभएर आमा जस्तो हुनु पर्ने बताएकी हुन् ।
‘राज्य भनेको होस्टेल वार्डेन जस्तो हुनुहुन्न । ८ बजे आयो भने भित्र छिर्न पाईन्छ, त्योभन्दा पछि आयो भने बाटैमा सुत कि बाघले खाओस् कि कतै जाओस्, राज्य त आमा जस्तो हुनुपर्छ राति १ बजे ढोकामा लात्ता हाने पनि ढोका खोल्नुहुन्छ। राज्य त अभिवावक जस्तो हुनुपर्छ’, उनले भनिन् ।
यौन हिंसासँग सम्बन्धित मुद्दाको हदम्यादका विषयमा विकले अहसमति पनि जनाईन् । ‘एकातिर बलत्कारलाई गम्भीर अपराध भनेका छौं। अर्कोतिर यति दिनमा आयौ भने उजुरी हुन्छ, आएनौ भने अपराध हुन्न भन्न मिल्छ ?’
करिब ८ वर्ष अगाडिको एक बलत्कारसम्बन्धी घटना सार्वजनिक भएपछि नेपालको मौजुदा कानुनले बलत्कारको उजुरीसम्बन्धी हदम्यादको व्यवस्थामा सवाल उठेपछि हदम्याद खारेजी वा समय बढाउने विषयमा बहस जारी छ । सरकारले हदम्यादलाई बढाएर २ वर्ष बनाउने तयारी गरेको छ ।