२१ मंसिर २०८०, बिहीबार Thursday 7 December, 2023

क्रिकेट लिग टु : नेपाल नामिबियासँग ४० रनले पराजित

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । ब्याटिङमा फेरि कमजोर प्रदर्शन हुँदा आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

आरिफ शेखले संयमित भएर खेल्दै अविजित ५० रन बनाए पनि गतिलो साथ नपाउँदा र साझेदारी नबन्दा नेपाल लक्ष्यसम्म पुग्न सकेन । छैटौं नम्बरमा ब्याटिङ गरेका आरिफले ८४ बल खेल्दै २ चौका प्रहार गरे । देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन जोडे । मिडलर अर्डर र लोअर अर्डरमा आरिफ बाहेक कसैले पनि व्यक्तिगत २० रन बनाउन सकेनन् । करण केसीले ११ बलमा १९ रन जोडेका थिए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यसै खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका वसिर अहमदले किफायती बलिङ गर्दै ७.३ ओभरमा १८ रन मात्र खर्चिएर १ विकेट लिए । आरिफ शेखले क्रेग विलियम्सलाई डाइरेक्ट हिटमार्फत रनआउट गराएका थिए ।

 

प्रतिक्रिया सबै