मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति व्यंग्य गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै काँग्रेस महामन्त्री थापाले गभर्नर अधिकारीमाथि व्यंग्य गरेका हुन् ।
मौद्रिक नीतिबारे नेकपा एमालेको अर्थ योजना विभागका सदस्य एम अधिकारीलाई नभए गभर्नरलाई सुझाव लिएको थापाको भनाइ छ । ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो,’ उनले भने, ‘नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’
यस्तै उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताए । ‘तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ,’ उनी भन्छन् ।
परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने र केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिमा गरिनुपर्छ थापाको भनाइ छ ।
राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम न आइसकेपछि अब यसलाई सच्याउनुपर्ने थापाको जोड छ । उनले भने, ‘यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्छन् ।’