बाबुरामले बहुमत देखाए अध्यक्ष छाडिदिन्छु : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीमा बहुमत देखाउन चुनौती दिएका छन् ।
वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रमा बुधबार उनले बहुमत देखाए अध्यक्ष पद नै छाडिदिने बताएका हुन् ।
यादवले भट्टराईमा हस्ताक्षर गर्ने बानी नै परेको टिप्पणी गरे । ‘माओवादीमा हुँदाखेरि पनि प्रचण्डजीलाई हटाएर आफू अध्यक्ष हुन हस्ताक्षर गराउनुभएको थियो । हस्ताक्षर बुझाउन बैठक बस्यो । १८ जना हस्ताक्षरकर्ताले उनकै विरोध गरे । त्यसपछि बाबुरामजी उठेर हिँड्नुभयो, माओवादी पनि छोडेर हिँड्नुभयो । यहाँ पनि त्यस्तै भयो’, अध्यक्ष यादवले भने ।
उनले मन्त्री हेरफेरमा आफूले एकल निर्णय नगरेको पनि जिकिर गरे । ‘कार्यकारिणी समितिपछि संसदीय दलको बैठक बस्यो, सरकारमा हेरफेर गर्ने कार्यकारिणीको निर्णयलाई संसदीय दलले अनुमोदन गर्यो र सरकारमा हेरफेर भयो’ उनले भने ‘डा। साहेबले एक्लै निर्णय गर्यो भनेर हल्ला गरेको गरेकै छन् । यो अत्यन्त झुठो र भ्रममा पार्ने कार्य हो ।’
संघीय परिषद अध्यक्ष डा. भट्टराईको मानसिकता गडबड भएको आरोप पनि उनले लगाए । ‘किन जानुभयो डाक्टर भन्ने लाग्यो । डाक्टर साहेबको मानसिकता अलिकति गडबड भएको जस्तो लाग्यो’ यादवले भने ।