२१ मंसिर २०८०, बिहीबार Thursday 7 December, 2023

सर्वोच्चले भन्यो- ‘सिंहदरबारभित्रका सीसीटीभी डाटा सुरक्षित नरहेको अनुमानसमेत गर्न सकिन्न’

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारभित्र सीसीटीभी क्यामेराले कैद गरेका डेटाहरू सुरक्षित नरहेको अनुमानसमेत गर्न नसकिने जनाएको छ ।

कानुन व्यवसायीहरू बाबुराम अर्याल, सरोजकृष्ण घिमिरेसहितले दर्ता गराएको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्र सीसीटीभी क्यामेराले कैद गरेका डेटाहरू सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने जनाएको हो ।

सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने पनि जनाएको छ । ‘अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डेटाहरू नमेटिने गरी सुरक्षित तबरले संचय गरी राख्नू भनी अन्तरिम आदेश माग भई आएको सन्दर्भमा विचार गर्दा सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरूले सिंहदरबार भित्रको अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयहरूको सीसीटीभी क्यामेराले कैद गरेका डेटाहरू सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन ।’आदेशमा उल्लेख छ ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईसमेत विपक्षी बनाइ दायर गरिएको रिटमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । रिटमा अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट अलग गर्न माग गरिएको थियो ।

प्रतिक्रिया सबै