प्रदेश १ को नाममा ‘पहिचान’ समेट्न तयार नहुने सांसदलाई गाउँबाट लखेट्छौँ : गोपाल किराती

नेपालका सात प्रदेशमध्ये ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश १ ले भने अझै पनि नामकरणको टुँगो लगाउन सकेको छैन । अहिले भने प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको छ । यसबीच माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले विज्ञप्ति जारी गर्दै प्रदेश १ को नामाकरण पहिचानका आधारमा नगरे बन्दुक उठाउने चेतावनी दिए । यस विषयमा स्काई नेपाल न्युजले नेता किरातीसँग गरेको कुराकानी प्रस्तुत छ :
प्रदेश १ को नामाकरण पहिचानलाई समेटेर नगरे फेरि हतियार उठाउँछु भन्ने चेतावनी दिनु भयो किन ?
— हाम्रो पुस्तामा हामीले शसस्त्र, शान्तिपूर्ण धेरै आन्दोलन गर्यौँ । नेपाली राजनीतिक आन्दोलनमा सबैभन्दा ठूलो आन्दोलन गर्यौँ । हिजो ६ बर्ष ०५४ सालदेखि ६० सालसम्म स्वायत्त गणराज्यको निम्ति पूर्वमा शसस्त्र आन्दोलन लड्दा गरिब किसानहरु गाउँ किसानहरुले जति सहयोग गरे हुनेखाने राईहरुले रमिता मात्रै हेरेर बसे । त्यो ठूलो टिप्पणी छ । उनीहरुले रमिता नहेरेको भए । ईतिहास अर्कै बनाईन्थ्यो । दोस्रो, लिम्बुवान, खम्बुवान एकता गरेर किरात गणराज्य बनाउने, मोर्चा पनि किराती बनायौँ । जन सरकार पनि घोषणा गर्यौँ । युद्धको बेला ठिकै थियो तर, ०६३ सालमा शान्ति सम्झौतमा आयौँ । त्यसपछि एमालेका लिम्बु नेताहरुले माओवादीका लिम्बु नेताहरुलाई भाँड्नसम्म भाँडे र माओवादीका लिम्बु नेताहरु भाँडिनैसम्म भाँडिए । छुट्टै लिम्बुवान भनेर मानियो त्यसलाई ।
तेस्रो, त्यो क्षेत्रमा समुदायमा जिबन समर्पित गरेर आन्दोलन उठाउने त्यसको विचारक प्रशिक्ष अगुवा नेता हामी थियौँ । हुँदा हुँदै पनि माओवादी र पहिचान छोडेर प्रचण्डहरु जसरी एमालेतिर जानुभयो त्यसलाई हामीले विलय भन्यौँ । किराँती मोर्चाको केन्द्रीय समितिका २ जना साथीहरु मात्रै पूनर्ठनको पक्षमा हामीसँग रहनु भयो । बाँकी सबै ठूलो भाग खान साथीहरु उतै गए । पहिचानको मुद्दा नेपाली क्रान्तिको अभिन्न अँग हो । र, हामीले त्यसको वकालत गर्दै आयौँ छोड्ने कुरा भएन । तर, निष्क्रिय जस्तो अवस्थामा हामी थियौँ । अन्ततः सहयोग र समर्थन निर्णायक अवस्थामा हुँदैन भन्ने सामान्य नीति मात्रै लिएर हामी आइराखेको थियौँ ।
हिजोको सेल्टर घरका दाजुहरु दिदीहरु, कार्यकर्ताहरु, शहिद परिवारहरु र विभिन्न समूहका पूर्वका माओवादी साथीहरुले बोल्न पर्यो भनेर जोड गर्नु भयो । र हामीले भर्खरै एउटा विज्ञप्ति जारी गर्यौँ । मैले आफ्नो संरक्षकको हैसियतबाट । अहिले प्रदेश १ का जनताले मात्रै प्रदेशको पहिचानको नाम खोजेका छन् अरु होइन । त्यो पनि अस्वीकार गर्ने दमन गर्ने हो भने हिजो शसस्त्र आन्दोलन गरेको नेतृत्व विरासत छ । अझ थप र पर्याप्त अनुभवसहित फेरि एकपटक बन्दुक नउठाउनु नपरोस भनेर चेतावनी दिएका हौँ ।
अरु प्रदेशको नामाकरण पहिचानको आधारमा नहुँद त बोल्नु भएन नि किन ?
— त्यो बेला बोलिएन अहिलेन बोलियो । सातै प्रदेशको नामाकरणबारे हामीले ०७५/७६ सालमा सात वटै प्रदेशमा त्यहाँको सभामुख, मूख्यमन्त्री, मन्त्रीहरुमार्फत प्रदेश सभाहरुलाई ज्ञापन गरेका छौँ । प्रदेश ७-को ‘खसान थरुहट’, प्रदेश—६ को ‘खसान कर्णाली’, प्रदेश-५ को ‘मगरात थारुवान मधेश’, प्रदेश-४ को तमुवान गण्डकी, प्रदेश-३को नेवा ताम्सालिङ, प्रदेश—२ को मधेस भनेर र पूर्वमा ‘किरात-लिम्बुवान-कोचिला (किलिको)’ प्रदेश नामाकरण गरियोस् भनेर लिखित रुपमै आग्रह गरिसकेका हौँ । तर, पाँच वटा प्रदेश नामाकरणको शिलशिलामा स्थानीय जनताको पहल र जागरण खासै देखिएन । नदेखिएपछि हामी मात्रै किन जान्ने भनेर ठूलो आवाजमा हामी बोलेनौँ । २ नम्बरको मधेस नामाकरण गरिएको छ । त्यसको स्वागत गरियो । अहिले प्रदेश १ मा चाहिँ नामाकरणको विषयमा त्यहाँका जनतामा प्रदेशको नाम ‘पहिचानको आधारमा गरिनुपर्छ नभए मान्दैनौँ’ भनेर जागरण देखियो त्यसमा घ्यु त थप्नु परयो नि त ।
तर, तपाईहरु यस्तो खाले चेतावनी दिए पनि प्रदेश १ को नाम पहिचानको आधारमा नराख्ने सम्भावना बढेर गएको छ भन्ने छ नि । त्यसो भयो भने के गर्नु हुन्छ ?
— अहिलेको संविधानलाई हामी उपलब्धिी र कम्जोरीसहितको संविधान भनेर हामी भन्छौँ । उपलब्धीहरुको रक्ष गर्ने कम्जोरी सच्याउन बर्ग संघर्ष जारी राख्ने हाम्रो पार्टीको नीति हो । यो संविधानमा बर्गिय विभेद अन्त्य गर्ने, जातीय, क्षेत्रीय, लैङ्गिक विभेद अन्त्य गर्ने र राज्य समाजवाद उन्मुख हुने भनेर अहिलेको संविधानमा लेखिएको छ । त्यो संविधानको व्यवस्था हासिल गर्नको निम्ति पनि अर्को ठूलो आन्दोलन जरुरी छ । अहिले मात्रै नामाकरणको विषय भयो । यदि जातीय, क्षेत्रीय विभेद अन्त्य गर्नको निम्ति नामसम्म राख्न पनि त्यहाँ प्रदेश सरकार, सांसद नेताहरु तयार हुँदैनन् भने हामीले विज्ञप्तिबाट आह्वान गरिसकेका छौँ उनीहरुलाई लखेट्ने तयारी गर्नुपर्यो । लखेट्ने जनकारबाही आन्दोलन उठाउनु पर्यो । र गाउँ-गाउँ पहिचान दस्ता बनाउन युवाहरुलाई विशेष आह्वान गर्दछौँ हामीले भन्यौँ । र जनताको आवाजलाई कुल्चने काम हुन्छ भने ढिलो-चाँडो ती नेताहरुलाई लखेट्ने काम हुन्छ । त्यो उदाहरण अहिले श्रीलंकामा देखियो । र, लखेटाईमा धेरथोर नेताहरु पर्नु हुन्छ ।
तपाईले भने जस्तो पहिचानबादीेहरुको आन्दोलन उठ्ला र ? कसरी विश्वास गर्नु हुन्छ ?
—गुण र मात्रामा हेर्नुपर्छ । मात्राको आन्दोलन अहिले भएन भने फेरि मात्रा त हामीले जहाँ आन्दोलन उठायौँ त्यो लामो ईतिहासका कडीहरु छ । फेरि त्यो कडीहरु दोहोरिएको छ । भारतमा सुरुमा ११ प्रदेश थियो अरे । भारत स्वतन्त्र बन्यो संविधान बनिसकेपछि त्यो उनीहरुको राष्ट्रिय गान ११ प्रदेशहरुको नाम समेटिएको छ । जनबलमा जनताको आन्दोलनमा २९ पुग्यो । यदि जनता भनिरहेका छन् कोशि नदीले पहिचान मागेको छैन । शप्कोशिले पनि मागेको छैन । सगरमाथाले पनि मागेको छैन । पहिचानको नाम त त्यहाँ जनताले मागेका हुन् । भन्दा भन्दै पनि जनविरोधी नाम राख्दछन् भने त्यो त ध्वस्त पारिन्छ । जहाँनेर यो बागमती राखिएको छ यसलाई उखेलेर नेवा ताम्सालिङ हुन्छ यहाँ । छुट्टै होला उता तमुवान, मगरात, खसान हुन्छ । यो नभइकन धरै छैन ।
नाम मात्रै पहिचान नआए पनि त्यो वामपन्थी आन्दोलन अथवा पहिचानको आन्दोलन मर्दैन भन्ने तपाईको विचार हो ?
—कसरी मर्छ ? कहिले कम्जोर बन्छ, कहिले माथी आउला यो अंक ज्यामितीय, विजगणीतीय रुपमा तलमाथि होला । जस्तो अहिले तमुवान-ताम्सालिङ, मगरात मगरात, थरुवान, खसान भएन भनेर बडा काइदा भयो भनी ठान्या होलान् । त्यहाँ जनता जाग्नेछन् । खसानको प्रश्नमा चाहिँ गण्डीदेखि पूर्वमा चाहिँ शासक खसारेहरु हुन् । तर, भाषा एउटै हुँदा हुँदै पनि खसानका खसहरुको ईतिहास के हुन् भने जसरी गोर्खालीले बन्दुकले लिम्बुवान खोस्यो । खसान पनि त्यसै गरि खोस्या हो । किरात राज्य, ताम्सालिङ जसरी खोसियो । अथवा कब्जा गर्यो गोर्खालाी सेनाले त्यो बेला खसानहरु त्यहि हो र त्यो पीडा चाहिँ यथावत छ जनताले बोल्दैछन् । र वहाँहरुको यो संघीयता त फेरि पुर्नसंरचना गर्नुपर्ने हुन्छ । अहिलेको संघियतालाई हामीले सिद्धान्तको मानेका छौँ । व्यवहारमा त मधेस बाहेक सबै मुर्दावाद हुने कुरा भईहाले ।
तपाईले त ‘किरात-लिम्बुवान-कोचिला (किलिको)’ राख्नुपर्छ भन्नुभएको छ । समग्रमा किरात प्रदेश राख्दा हुँदैन किन ?
— किनभने त्यस्को ईतिहास त्यहि हो । लिम्बुवाका साथीहरुले मान्दिनु भयो भने हुन्छ । कोचिलाका साथीहरुले मान्दिनु भयो भने हुन्छ । तर, जबरजस्ति कोच्नु हुँदैन । हिजो ओल्लो किरात, पल्लो किरात, माझ किरात थियो । तर, सँधै त्यो हुने किन नहुने भन्नु केरा चाहिँ जस्तो, विज्ञप्तिमा हामीले के भनेका छौँ भने- ‘सिक्किमको घा नबजाउनु भनेर पृथ्वीनारायाण शाहले भने त्यसो हुनाले पृथ्वीनारायण शाहले आफ्नो राज्य खडा गरे । यदि सिक्किमको घा नबजाउनु भन्ने अन्तराष्ट्रिय कुटनीतिक चातुर्यता पृथ्वीनारायाणसँग हुँदैन थियो भने त्यो उँदोकोसँग, माथिको सँग लडाई हुन्थ्यो र यो पृथ्वीनारायणको राज्य हुँदैन थियो । त्यस्तो सचेतता, कुटनीतिक जातुर्यता अहिलेकोले पनि अपनाउनु पर्दछ । पछिल्लो चरणमा साथीहरुले छुट्टै लिम्बुवान हुनुपर्छ भन्नु भयो त्यसलाई मानियो । किन भने जे भन्दा जनताको हित हुन्छ ठिक हुन्छ त्यसलाई मान्न हामी तयार ।
२०५८ सालमा भक्तराज कन्दङवालाई अध्यक्ष बनाईयो किरातकै लागि लिम्बुवानको तर्फबाट म महासचिव भए । संखुवासभामा एकता भेला गरियो । र किराती मोर्चा र किरात गणराज्य दिँदै आएकोमा चाहिँ यो शान्ति सम्झौतामा हामी आईसकेपछि माओवादीका लिम्बुवान साथीहरुले छुट्टै लिम्बुवान भनेपछि मानियो । अन्य शेर्पा, मधेस पनि छन् तर, अहिलेको प्रदेश संरचना छ शेर्पालाई समेट्न ठाउँ नै छैन । जस्तो शेर्पाको प्रदेशको संरचना बनाउने खाका बनाउने राज्य पूनसंरचना समितिमा यो गोपाल किराती पनि थियो नि त । म सोलुखुम्बुबाट निर्वाचिन थिए र शेर्पाहरुको हक अधिकार पहिचानको लागि त्यो बेला जोडबल गरेको पनि हो । त्यो बेला शेर्पा जो भनिएको क्षेत्र सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक पर्दछ त्यसो हुनाले प्रदेश १ ले मात्रै निर्धारण गर्दैन । त्यसमा चित्त दुःखाई गर्नुपनि ठाउँ नै छैन ।
अर्को पुर्नसंरचना गर्नुपर्छ । जुनुदिन छुट्टै लिम्बुवान हुनेछ, छुट्टै कोचिला हुनेछ, छुट्टै ताम्सालिङ, किरात पनि हुने छ त्यो दिन सम्बोधन हुने परिस्थिती देखिन्छ । एकैचोटी सबै माग थुपारेर हुँदैन भन्ने बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । हामीले बर्गिय, जातीय समाजयोजना गरे महान जनयुद्धबाट हामीले त्यहाँ पुर्यायौँ । माओवादी पार्टीले किरात राज्य समिति, लिम्बुवान राज्य समिति, कोचिला राज्य समितिको अभ्यास गरियो । त्यो त मैले छोड्नु मिल्दैन । छोड्यो भने त्यो बैमानी हुन्छ अथवा छोड्नको निम्ति भोली समिक्षा गरौँला । अर्कै हुन पनि सक्छ । म जन्म, सामुदायिक, सांस्कृतिक रुपले राई किराती परे । बैचारिक, राजनीतिक रुपले म कम्युनिष्ट हुँ । मेरो दुई ओटा परिचय हुने भयो त्यहाँ पुग्दाखेरी । म कम्युनिष्ट दृष्टिकोणबाट मैले के बुज्छु र के बुज्नुपर्दछ भने जे-जे गर्दा त्यो हित, प्रगति उन्नति हुन्छ म त्यो सबै गर्न तयार । दोस्रोमा राई किराती जन्मले जो म भए । राई किराती भएको नाताले मैले लिम्बुको घा बजाउनु हुँदैन । कोचिलाको घा बजाउनु हुँदैन, मधेसको घ बजाउनु हुँदैन, ताम्सालि, शेर्पाको पनि हुँदैन । अरुले पनि त्यसै गर्नुपर्छ । त्यसकारणले १४ जिल्लालाई किरात प्रदेश वा किरात गणराज्य अहिले भनिहाल्ने पक्षमा म छैन किन भने हुनु हुँदैन । किन भने लिम्बु जनतासँग हाम्रो लडाई होईन । शेर्पा, मधेसी, तामाङ, जनतासँग हाम्रो लडाई होईन ।
छोटकरीमा ‘किरात’ वा ‘लिम्बुवान’ मात्रै साझा नाम राख्दा हुँदैन ?
—त्यो त त्यहाँको सरकारले एउटा साझा नाम लिएर आउनु हामी पास गछौँ भन्नुपर्यो । सरकारमा भएको सांसद भएकाहरु चाहिँ चुप लागेर बस्ने । जनताले आ-आफ्नो तर्फबाट पहल गर्दा आ-आफ्नो दृष्टिकोण आउने कुरा भयो । हामी त्यहि गरिराखेका छौँ ।
पहिचानको आधारमा नाम राख्दा कम्युनिष्ट पार्टी एमालेले किन विरोध गरिरहेको छ तपाई पनि कम्युनिष्ट नै हो ?
—एमाले कम्युनिष्ट नै होईन । आयरल्याण्ड स्वतन्त्रताको आन्दोलनको विचार कार्लमाक्सले निर्माण गर्नु भयो । कम्युनिष्ट मार्कसवादी आन्दोलनमा । लेनिन् त राष्ट्रिय, जातीय मुक्ति आन्दोलनको विश्व स्तरको कमाण्डर हो । स्टालिन माओत्सेतुङ हुँदै आउँदा अहिले प्रचण्ड बाबुराम जहासुकै पुगे पनि १० बर्षको जनयुद्धको ठूलो पहिचानको आन्दोलन चाहिँ कहिले भएको थियो नेपालमा ? भएको थिएन । बर्गिय आन्दोलन हुँदा जति माथि पुग्यो जातीय आन्दोलनमा पनि पुग्यो । माओवादीको आन्दोलन बढ्दाखेरी पहिचानको आन्दोलनमा शसक्त थियो । माओवादी ध्वस्त भईसकेपछि पहिचानको आन्दोलनको हालत खराब भयो । यो चाहिँ हो ।
मार्कसवादले के भन्छ भने मुख्य त बर्ग हो । तर, समाजमा रहेको सबैखाले अन्याय र उत्पीडनको विरुद्ध लड्नु बर्ग संघर्षकै दायित्वमा कर्तव्यमा पर्छ । त्यो नमानेपछि एमाले कम्युनिष्ट होइन । प्रचण्डहरु पनि होइन । किनभने वहाँहरु एमालेतिर जानु भयो । अदालती माओवादी होला । तर, सारमा चाहिँ होकि होइन त्यहाँ परिक्षण हुँदैछ हो भने । ताम्सालिङ नराख्दा प्रचण्ड, माओवादीेले प्रश्न किन उठाएन ? उनीहरु त संसदमा थिए । हामी त सडकमा थियौँ । मगरात नराख्दा, तमुवान, खसान, थरुवान नराख्दा प्रश्न किन उठाएन ? औपचारिक रुपमा छोड्यौ भनिराखेका छैनन् । प्रचण्ड बाँकी साथीहरुले चाहिँ भित्रभित्र सांसदहरुले हुनुपर्छ भन्ने हामी सुन्दछौँ । एमालेलाई कम्युनिष्ट बुज्नु नै भ्रम हो । एमालेलाई कम्युनिष्ट बुज्ने दुर्भाग्यप्रति म खेद प्रकट गर्दछु ।
प्रस्तुती: प्रकाश चाम्लिङ
भिडियो