ओली सरकार हटाउन विदेशीको साथ थियो : उपेन्द्र यादव

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल-चीन हिमालयन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन् ।
नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको भन्दै उनले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको उल्लेख गरे । ‘हाम्रो मुलुक ल्यान्डलक मुलुक हो । अल्पविकसित मुलुक हो । र, राजनीतिक रूपमा अहिले पनि अस्थिर नै छ । यति अस्थिर छ, हाम्रो पूर्वप्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँसँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिएँ । म पूर्व भएँ । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ । यो पनि भूराजनीतिकै प्रभाव हो । कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन्’ अध्यक्ष यादवले भने ।
सरकारले रुस–युक्रेन युद्धमा युक्रेनका पक्षमा उभिएर गल्ती गरेको असन्तुष्टि जाउँदै दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएका बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको बताए ।