९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

भारत भ्रमण सोचेभन्दा राम्रो र सफल भयो : प्रचण्ड

 आइतवार, साउन १ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर फिरेपछि त्रिभुवन विमानस्थलमा अध्यक्ष प्रचण्डले भने, ‘मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ । भ्रमण अपेक्षाअनुसार सफल भएको छ। मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ ।’

भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुसी भएको बताए । ‘मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुसी भएँ । यहाँबाट गएकै दिन मेरो विदेश सचिवसँग भेट भएको थियो। उहाँसँग डिनरसहित छलफल गरेँ’, उनले भने ।

प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताए । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले भने, ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो ।’

आफ्नो भ्रमण अपेक्षअनुसार नै भएको उनले बताए । प्रचण्डले अघि भने, ‘कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस भएको छ ।’

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग आफूले महत्वपूर्ण कुरा गरेको बताए । ‘अजित डोभालसँगको भेट निक्कै महत्वपूर्ण रह्यो। उहाँसँग २ घण्टा लामो कुराकानी भयो । खुलेर समस्या सम्भावना, अवसर र चुनौतीबारे कुराकानी भएको छ। मैले तेलको मूल्य, खाद्यान्न र डुबानबारे पनि कुरा उठाएको छु। केही दिनमा प्रगति हुन्छ’, उनले भने ।

डोभालसँगको कुराकानीका क्रममा राहत पेट्रोलियम पदार्थ उपलब्ध गराउन पनि आफूले आग्रह गरेको पनि बताए । यो पटक आफ्नो भ्रमण उत्साहप्रद भएको उनले बताए । ‘यो पटक भ्रमणलाई मिडियाले उत्साहप्रद प्रचार गरे। दिल्लीमा नेपाली राजदूतले आरजु म्याडम (आरजु देउवा) लाई बोलाउनु भएको हो। दूतावासमै भेट्न उचित हुन्छ भनेको थिएँ। तर कतिपयले अतिरञ्जित गरे’, उनले भने ।

प्रतिक्रिया सबै