किरात प्रदेशका लागि यायोक्खाद्वारा आज बृहत मोटरसाइकल र्याली

काठमाडौँ । किरात राई यायोक्खाले आज प्रदेश १ को नाम किरात प्रदेश राख्न दबाब दिने उदेश्यले बृहत रुपमा मोटरसाइकल र्याली गर्ने भएको छ ।
इटहरीदेखि विराटनगरसम्मको २४ किलोमिटर दुरीमा मोटरसाइकल र्याली गर्न लागिएको हो ।
नेपाली कांग्रेस र एमाले किरात प्रदेश राख्न सहमत नहुने दलहरुलाई शक्ति प्रदर्शन गर्ने उदेश्यले सो प्रदशन गर्न लागिएको हो । र्यालीमा अधिकतम पहिचान पक्षधरहरुलाई समेट्न यायोक्खाले प्रयास गरिरहेको यायोक्खाका महासचिव जनक राईले बताए ।
यायोक्खाका महासचिव राईका अनुसार बिहान ११ बजे इटहरीदेखि विराटनगरतर्फ र्याली सुरु गरिने छ ।
र्यालीले विराटनगरस्थित मुख्यमन्त्रीकाे कार्यालयमा पुगेर घेराउ गर्ने, मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउने र बाहिर कोणसभा गर्नेछ ।
यायोक्खाले धरान र आसपासकाहरुलाई १० बजेभित्र यलम्बर स्मृति भवनमा भेला हुन अपिल गरेको छ । इटहरी र आसपासकाहरु भने ११ बजे इटहरीचोकमा केन्द्रित हुन अनुरोध गरेकाे छ ।
यायोक्खाले यसअघि पनि पटकपटक किरात प्रदेशका लागि प्रदर्शन, मोटरसाइकल र्याली, मुख्यमन्त्रीकाे कार्यालयमा धर्ना घेराउ, मुख्यमन्त्री, सभामुख, प्रदेशका संसदीय दलका नेता तथा प्रमुख दलका नेताहरुलाई ज्ञापनपत्र दिने कार्यक्रम गरिसकेको छ ।
यायोक्खाले यसअघि किरात प्रदेशका लागि २५ लाख मानिसको हस्ताक्षर संकलन गरी तत्कालीन मुख्मन्त्री शेरधन राईलाई पनि बुझाएको थियो ।
हाल नेकपा एमाले कोशी प्रदेश र कांग्रेस सप्तकोशी प्रदेश बनाउने पक्षमा छन् । अन्य दलहरु भने पहिचान जोडेर नामकरण गर्न तयार देखिएका छन् ।
प्रदेशकाे नाममा पहिचान जनित शब्द जोड्न पनि तयार नहुने कांग्रेस-एमालेका नेताहरुलाई दबाब दिनका लागि यायोक्खाले मोटरसाइकल र्याली गर्न लागेको हो ।