वैवाहिक जीवनमा बाँधिए जेनिफर लोपेज र बेन

काठमाडौं । हलिउड स्टार बेन एफलेक र जेनिफर लोपेज वैवाहिक जीवनमा बाँधिएका छन् । नेभाडास्थित क्लार्क काउन्टीको विवाह अनुमति पत्रअनुसार शनिबार उनीहरुले विवाह गरेको उल्लेख छ ।
जेनिफरले आफ्नो नामको पछाडि एफलेक राखेकी छन् । लोपेजले आइतबार दिउँसो आफ्नो न्युजलेटरमार्फत आफूहरुको विवाह भएको पुष्टि गरेकी छन् । ‘हामीले बिहे गर्यौं,’ उनले लेखकी छन् ।
‘हिजो राति हामी भेगास उड्यौं । अन्य चार जोडीसँगै लाइसेन्सको लागि लाइनमा उभियौं जो संसारकै वैवाहिक राजधानी मानिने थलोमा उही सपना लिएर उभिएका छन्,’ जेनिफरले उल्लेख गरेकी छन् ।
जेनिफर र एफलेकको खबर पहिलोपटक गत अप्रिलमा सार्वजनिक भएको थियो । उनीहरुले इन्गेजमेन्ट औंठी साटासाट गर्दै खुसी बाँडेका थिए ।
५२ वर्षीया जेनिफर र ४९ वर्षीय एफलेक सन् २००० को दशकका विश्व चर्चित कलाकार हुन् । उनीहरुले दुईवटा फिल्ममा सँगै काम गरेका छन् । सन् २००३ मा रिलिज भएको फिल्म ‘गिग्ली’मा उनीहरुले पहिलोपटक सँगै काम गरेका थिए, तर त्यो फिल्मले सफलता पाउन सकेन ।