कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बस्दै
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ ।
सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरेपछि विवाद समाधानका लागि सभामुख शाहीले सर्वदलीय बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैलीप्रति विरोध गर्दै माओवादीले मंगलबार प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । मुख्यमन्त्रीले गठबन्धनको भावना र मूल्य मान्यताविपरीत एकलौटी रुपमा अघि बढ्न खोजेको माओवादीको आरोप छ ।
अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको तथा सदन र सरकारमा पार्टीलाई बेवास्ता गरेको प्रदेश सभा सदस्य गोपाल शर्माले बताए । संसदभित्र माओवादी प्रमुख सत्ता साझेदार दल हो भन्ने खालको अनुभूति नभएको उनको भनाइ छ ।
कर्णालीमा नेकपा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धनको सरकार छ । यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीर नभएको खण्डमा विकल्प सोच्न सकिने बताउँदै आएका छन् ।