देउवा र महन्थबीच भेटवार्ता, महन्थलाई गठबन्धनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । लोसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकामा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भेटका क्रममा धन्यवाद दिएको बताए ।
‘प्रधानमन्त्रीजीले नागरिकता विधेयक सदनमा लग्नुभएको छ, त्यसको लागि हामीले धन्यवाद दियौँ ’, उनले भने, सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएको उनको भनाई छ । जेलमा रहेका रेशम चौधरीलगायतका बन्दी रिहाइ, लगाइएको झुठा मुद्दा फिर्ताको विषयमा पनि कुराकानी भएको उनले बताए ।
‘बन्दी रिहाइ, मुद्दा फिर्तालगायतको विषयमा सरकारले अध्ययन थालिसकेको छ, केही दिनमै त्यसको टुंगो लगाउने कुरा पनि प्रधानमन्त्रीज्यूले भन्नुभएको छ’, उनले भने । थप अरु कुनै विषयमा कुराकानी नभएको उनले बताए ।
प्रधानमन्त्री देउवाले भने अहिलेका सत्ता गठबन्धनमा सहभागी हुनका लागि देउवाले महन्थ ठाकुरलाई आग्रह गरेको एक नेताको भनाई छ । ठाकुरले भने लोकतान्त्रिक गठबन्धन बनाए त्यसमा आफ्नो दल सहभागी हुने जवाफ दिएको ती नेताले बताए ।