अमेरिकी संसदमा युक्रेनी प्रथम महिला ओलेनाले मागिन् हतियार

काठमाडौं । युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले अमेरिकी सांसदहरुसामु युक्रेनलाई थप हतियार उपलब्ध गराउन माग गरेकी छन् । अमेरिका भ्रमणमा रहेकी जेलेन्स्काले सिनेटर र प्रतिनिधि सभाका सदस्यहरुलाई सम्बोधन गर्दै जितका लागि युक्रेनलाई अझै धेरै हतियार चाहिने बताएकी हुन् ।
‘युद्धले हाम्रो संसार पुरै ध्वस्त पारेपछि हामी टुक्राटुक्रा भएका छौँ। त्यस्ता दसौँ हजार संसार युक्रेनमा ध्वस्त भएका छन्,’ १५ मिनेट भावुक सम्बोधन गरेकी जेलेन्स्काले दोभासेमार्फत् भनिन् । युद्धमा मारिएका र घाइते भएका बालबालिकाको भिडिओ देखाउँदै उनले भनिन्, ‘म हतियार मागिरहेकी छु । त्यो हतियार अरु कसैको भूमिमा युद्ध सुरु गर्न प्रयोग गरिने छैन। बरु, त्यो हतियारले आफ्नो घरको रक्षा गर्नेछौँ।’
उनका पति भ्लादिमिर जेलेन्स्कीले २०१९ मा चुनाव जित्नुअघि जेलेन्स्का पतिका लागि स्क्रिप्ट लेखनको काम गर्थिन्। उनीहरुको विवाह २००३ मा भएको हो ।
अमेरिकाले युद्ध सुरु भएयता ८ अर्ब डलरको सुरक्षा सहयोग युक्रेनलाई दिइसकेको छ । जेलेन्स्काले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनलाई भेटेकी थिइन् । एजेन्सी