देउवाद्धारा श्रीलंकाका राष्ट्रपतिलाई बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमासिंघेलाई बधाई दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा देउवाले श्रीलंकाको राष्ट्रपति निर्वाचित भएकोमा विक्रमासिंघेलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट बधाई दिएका हुन् ।
विक्रमासिंघे बुधबार श्रीलंकाको संसदबाट नयाँ राष्ट्रपति चुनिएका थिए । शुक्रबार उनले दिनेश गुणावर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन् । शुक्रबार नै श्रीलंकामा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्रीसहित उक्त मन्त्रिपरिषद्मा १८ सदस्य छन् ।
विक्रमासिंघे यस्ता व्यक्ति हुन् जो ६ पटकसम्म श्रीलंकाका प्रधानमन्त्री बनेका छन् । अहिलेसम्म अरू कोही यति धेरै पटक प्रधानमन्त्री बनेको छैन । उनी सन् १९४९ मा कोलोम्बो प्रभावशाली राजनीतिक परिवारमा जन्मिएका हुन् । युनिभर्सिटी अफ कोलोम्बोमा पढ्दा विक्रमासिंघे विद्यार्थी राजनीतिमा सक्रिय थिए । पछि उनी २८ वर्षको उमेरमै सांसद चुनिए ।
सन् १९७७ मा युवा तथा रोजगार मन्त्री बनेका विक्रमसिंघे त्यसयता निरन्तर सत्ताकै वरिपरि छन् । उनी १९९३ मा पहिलो पटक प्रधानमन्त्री भए । १९९४ मा पदमुक्त भए । २००१ मा दोस्रो पटक प्रधानमन्त्री भएका उनी २००४ सम्म सत्तामा रहे । २०१५ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनले सन् २०१८ सम्म थप दुई पटक प्रधानमन्त्रीको सपथ लिए ।
आर्थिक संकटबाट गुज्रिएपछि गत मेमा तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले विक्रमासिंघेलाई छैठौं पटक प्रधानमन्त्री नियुक्त गरेका थिए । राजापाक्षेले अर्थमन्त्रीको जिम्मा पनि उनैलाई दिएका थिए । यसअघि आमनिर्वाचनबाट राष्ट्रपति चुनिन खोज्दा विक्रमासिंघे दुई पटक पराजित भएका थिए ।
गएको आमचुनावमा उनको युनाइटेड नेशनल पार्टीले नराम्रोसँग हार व्यहोर्यो । विक्रमासिंघे आफैं पनि पराजित भए । पछि उनी समानुपातिक तर्फबाट सांसद बने । दुई वर्षअघिको चुनावमा भएको त्यो शर्मनाक हारलाई बिर्साउने गरी विक्रमासिंघे अहिले राष्ट्रपति चुनिएका छन् । उनी अब सन् २०२४ को नोभेम्बरसम्म राष्ट्रपति हुन पाउनेछन् ।