४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

वामपन्थी दलहरुसँग एकता हुन सक्छ : प्रचण्ड (भिडियो)

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्रका वामपन्थी दलहरुसँग एकता हुन सक्ने बताएका छन् । शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका समूहसँग एकताको प्रयास भइरहेको बताए । ‘सम्भवतः केही दिनभित्र हामी एउटा निर्णयमा पुग्छौं’, उनले भने ।

गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझदारी बनाउनपर्ने उनको भनाई छ । ‘गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझादारी बनाउनपर्छ। सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुनसक्छ । पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ। छलफल भइरहेको छ’, अध्यक्ष प्रचण्डले भने ।

जनता समाजवादी पार्टी फुटिसकेको, औपचारिक घोषणा हुन मात्र बाँकी भएको उनले बताए । ‘बाबुरामजीहरुको जनता समाजवादी पार्टी फुटिसकेको छ, त्यसको औपचारिकता दिन मात्र बाँकी छ । त्यो सँगै दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ,’ प्रचण्डले भने, ‘उपेन्द्रजीसँग नेतृत्व गरिरहेको पार्टीसँग हामी गठबन्धनमा पनि सँगै छौं। बाबुरामजीले अर्को बनाउने पार्टी पनि गठबन्धनभन्दा बाहिर हामी हुँदैनौं भन्नुभएको छ। यसकारण उहाँहरु गठबन्धनबाट बाहिर जाने अवस्था छैन।’

माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम र आफूसहितका नेताहरु सो अभियानमा लागेको प्रचण्डको भनाई छ । यस्तै संसदबाट शुक्रबार पारित नागरिकता विधेयकको समाचार जनकपुर पुगेर सुनाउन पाएकोमा प्रचण्डले खुसी व्यक्त पनि गरे ।

‘हिजो मात्रै सदनबाट नागरिकताको समस्या समाधान भएको छ । जसको कारण झण्डै ६÷७ लाख नेपालीहरु धेरै कामबाट वञ्चित हुनुपर्ने अवस्था थियो । त्यसको समाधान भएको छ,’ प्रचण्डले भने, ‘त्यो तुरुन्तै कार्यान्वयन हुन्छ । आज जनकपुरमा आएर पहिलोचोटी मैले पार्टीको तर्फबाट सुनाउन पाउँदा तपाईंहरुको माध्यमबाट मधेशका सम्पूर्ण जनतामाझ यो खुसीको समाचार सुनाउन पाउँदा गर्वको महसुस भएको छ ।’

भिडियो

प्रतिक्रिया सबै