कम्युनिस्टहरूले समाजवादी केन्द्र खोल्नै मिल्दैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरुले समाजवादी केन्द्र खोल्न नमिल्ने बताएका छन् ।
‘कम्युनिस्टहरूले समाजवादी केन्द्र स्थापना गर्न नै सक्दैन । गरे पनि त्यो सैद्धान्तिक रूपमा मिल्दैन । कम्युनिस्टहरू साम्यवादी हुन्छन्, समाजवादी हुनै सक्दैन’, अध्यक्ष उपेन्द्रले भनेका छन् । आफ्नो जसपा नै एउटा समाजवादी केन्द्र भएको बताउँदै उनले आफूहरू अरू केन्द्रमा सहभागी हुने जरुरत नै नरहेको बताएका छन् ।
डा. बाबुराम भट्टराईले पार्टीका नै हुँदा समाजवादी केन्द्रको अवधारणा ल्याएको हुँदा कतिपयले जसपाका अध्यक्ष यादव पनि समाजवादी केन्द्रमा समावेश हुने चर्चा चलेको थियो । अध्यक्ष यादवले समाजवादी केन्द्रको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पटक-पटक छलफल समेत गरेको बताइन्छ । तर, उपेन्द्रले भने समाजवादी केन्द्र नरहने स्पष्ट पारेका हुन् ।
जसपा अध्यक्ष यादव पनि समाजवादी केन्द्रमा सहभागी हुने सकारात्मक सन्देश दिएको बताइएको थियो । अध्यक्ष प्रचण्डसँग यस विषयमा उनी पटक पटक कुरा पनि गरिसकेका छन् ।
‘जसपा नै समाजवादी पार्टी हो । उनीहरूले समाजवादको नाममा जनतालाई भ्रममा राखिरहेका छन्,’ अध्यक्ष यादवले कम्युनिस्टहरू समाजवादी केन्द्रको नाममा जनतालाई ठग्ने कार्य गर्न लागेको पनि आरोप लगाएका छन् ।
जसपाबाट कारबाहीमा परेपछि नेता भट्टराईले यतिबेला समाजवादी केन्द्र गठनबारे वापन्थी दलहरुसँग छलफल गरिरहेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लगातार छलफल गरिरहेका छन् ।
समाजवादी केन्द्र निर्माणका लागि प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी, वामदेव गौतम नेतृत्व नेकपा एकता राष्ट्रिय अभियान र गठन हुन बाँकी रहेको बाबुराम नेतृत्वको पार्टी छलफल गरिरहेका छन् ।