४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

गठबन्धनको डम्फूमात्रै बजाएर बस्न सकिँदैन : माधव नेपाल

 शनिबार, साउन ७ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अब गठबन्धनको डम्फुमात्रै बजनाएर बस्न नसकिने बताएका छन् । पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष नेपालले बताए ।

आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी गर्दैै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको बताए । अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरेका छन् ।

उनले भने, ‘अहिले तपाइहरूलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौँ । अब मङ्सिर महिनामा चुनाव आउँदैछ । सम्भवतः मङ्सिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अव कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । अव यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ । त्यसो हुनाले हामीले स्थानीय तह निर्वाचनमा मेहनत कम गर्‍यौँ । संगठन बनाउने कुरामा ध्यान कम दियौँ । संगठन विस्तार गर्ने कुरामा ध्यान कम दियौँ । फलस्वरूप हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्त्व पाउनुपर्थ्यो, त्यो पाउन सकेनौँ ।’

प्रतिक्रिया सबै