९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

वामपन्थी एकताको प्रतीक्षामा एमाले छैन : शंकर पोखरेल

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार बिहान आयोजित पत्रकार भेटघाटका क्रममा उनले एमालेका लागि गठबन्धन प्रधान विषय नभएको बताए ।

वामपन्थी दलहरु एकताको प्रयासमा जुटिरहँदा एमालेलाई त्यो प्रस्ताव आएको छ वा छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पोखरेलले भने, ‘हामी त्यो प्रस्तावको प्रतीक्षामा नै छैनौं । अहिले हामी हाम्रो पार्टीलाई जनताको बीचमा लाने अभियानमा छौं ।’

उनले अहिलेको राज्य सञ्चालनका लागि गठबन्धन नबनेको टिप्पणी गरे । ‘राज्य सञ्चालनका लागि गठबन्धन होइन, राष्ट्रिय शक्ति छैन,’ पोखरेलले भने, ‘नेकपा एमालेको दृष्टिकोण चुनावको बेलामा के गर्ने भन्ने त्यतिबेला गरौंला ।’

चुनावमा हुने तालमेल तत्कालीन वा रणनीतिक हुनसक्ने उनले बताए । ‘हाम्रा लागि गठबन्धन ठूलो कुरा होइन, अहिले हामी गठबन्धन गर्ने कुरा छैन । गठबन्धन प्रधान कुरा होइन’, पोखरेलले भने, ‘चुनावको बेलामा चुनावी तालमेलको कुरा भनेको तत्कालीन र रणनीतिक कुरा हो ।’

‘सत्तारुढ दलका नेताहरु गठबन्धन र प्रधानमन्त्री खोज्न विदेश जान थाले भन्ने आएका छन्’, महासचिव पोखरेलले भने, ‘गठबन्धनका नेताहरुले स्वार्थका लागि विदेशको प्रयोग गरिँदै आएको छ ।’

मुलुकको अर्थतन्त्र असाधारण संकटतर्फ गएको दाबी उनले गरे । ‘छिटोभन्दा छिटो चुनावको माध्यमबाट गठबन्धनलाई पराजित गर्ने र मुलुकमा बलियो राष्ट्रि शक्तिको रुपमा मुलुकलाई डोर्याउन एमाले सक्षम छ भन्ने देखिएको छ’, उनले भने ।

प्रतिक्रिया सबै