१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

३ अर्ब लगानीमा ‘होटल सेन्चुरियन’ खुल्दै

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । प्रदेश १ को राजधानी सहर विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे होटल सेन्चुरियनसहितको व्यापारिक मल खुल्ने भएको छ ।

मसला उत्पादन गर्ने नेपाली उद्योग सेन्चुरी ग्रुप अफ कम्पनीले अर्को वर्षदेखि सञ्चालनमा ल्याउनेगरी विराटनगरमै पहिलो पटक पाँचतारे होटल र मलमा लगानी गरेको हो ।

३० कठ्ठा जमिनमा बन्ने ७५ हजार स्क्वायर फिटको मलमा १५० कोठाको पाँचतारे होटल सेन्चुरियन हुने कम्पनीका अध्यक्ष मोतीलाल दूगडले बताए । होटल सेन्चुरियनको व्यवस्थापनमा साझोदारी भने पाँच तारे होटल र्‍याडिनले गर्ने उनको भनाइ छ ।

‘विराटनगरमा पहिलो पाँच तारे होटल सहितको मल बनाउँदै छौं । अर्को वर्ष होटलसहितको मल सञ्चालनमा आउँछ,’ दूगडले भने ‘ होटलमा क्यासिनो, बालद्यान र व्यापरिक प्रयोजनको मल उपयोग हुनेछ ।’

होटल सेन्चुरियन व्यवस्थापनका लागि सोमबार साँझ ६ः३० बजे होटल र्‍याडिसनसँग सम्झौता हुने पनि उनले बताए । होटलसहितको पूर्वाधारमा बैंकहरुले १८० करोड र बाँकी १२० करोड लगानी सेन्चुरी ग्रूप अफ कम्पनीले गरेको अध्यक्ष दूगडको भनाइ छ ।

शिक्षा, राजनीति, उद्योग, व्यापार र पर्यटनको हबको रुपमा रहेको बिराटनगरमा पाँच तारे होटलको अभाव पूर्तिका लागि परियोजनामा लगानी गरेको उनको भनाइ छ ।

यो कम्पनीले यसअघि विराटनगरमै चार तारे होटल हेरिसन सञ्चालन गरिरहेको छ । सेन्चुरी ग्रूप अफ कम्पनी नेपालमा तरकारी मसला बिक्रीका लागि चर्चित छ । होटलसहितको मलको पूर्वाधारको काम धेरै सकिएको र अर्को वर्ष पूर्ण रुपमा सञ्चालनमा आउने गरी काम भइरहेको दूगडले बताए ।

 

प्रतिक्रिया सबै