११ फाल्गुन २०८०, शुक्रबार Friday 23 February, 2024

भक्तपुरमा रुखले बस र स्कुटी किच्दा ३ जनाको मृत्यु

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । भक्तपुर नगरपालिका-१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दर्जन भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्याप्दा तीन जनाको मृत्यु भएको हो ।

अन्य १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले बताइन् ।

मृत्यु भएका तीनमध्ये एकजनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतकमध्ये नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाइरहेको छ। सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माको भनाई छ ।

यसैबीच घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुरका प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया सबै