९ फाल्गुन २०८०, बुधबार Wednesday 21 February, 2024

भारतबाट फर्किने व्यक्तिमा कोरोना संक्रमण देखियो

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।

शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ ।

भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा छ । एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको सङ्क्रमण देखिएको उनले बताए ।

‘आज मात्रै एन्टिजेन परीक्षण गर्दा चार जनाको नतिजा पोजिटिभ देखिएको छ’, उनले भने, ‘गत मङ्गलबार मात्रै नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।’

दैनिक दुई सय बढीको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजिटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ ।

‘एन्टिजेनको नतिजा पोजिटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौँ’, उनले भने, ‘अस्पतालमा परामर्शपश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।’

दैनिक सीमा नाका भएर फर्कनेको सङ्ख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ । भारतबाट फर्कने व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।

 

प्रतिक्रिया सबै