१० फाल्गुन २०८०, बिहीबार Thursday 22 February, 2024

नागरिकता ऐनमा एमालेले दोहोरो चरित्र देखायो : नेता पुन

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता बर्षमान पुनले ‘अनन्त’ले प्रतिनिधिसभाले हालै पारित गरेको (नेपाल नागरिकता ऐन–२०६३)लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र देखाएको बताएका छन् ।

आइतबार पार्टी सम्वद्ध राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैठकलाई सम्बोधन गर्दै नेता पुनले नागरिकताजस्तो संवेदनशील विषयलाई एमालेले चुनावी राजनीतिक एजेण्डा बनाएको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएका छन् ।

नेता पुनले केपी ओली नेतृत्वको सरकारले ०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा ०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधि सभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको बताए ।

‘ओली सरकारले विधेयक र अध्यादेशमा जेजे प्रावधान अघि सारेको थियो । अहिले पारित भएको नागरिकता विधेयकमा हुबहु त्यही प्रावधान समावेश छ । आफूले विधेक ल्याउने, अध्यादेशमा पनि त्यही ल्याउने अनि अहिले सरकार बाहिर भएका बेला अरुले त्यही प्रावधानसहितको विधेयक पास गर्दा राष्टघाती भनेर विरोध गर्ने एमालेको यो दोहोरो चरित्र सबैले समयमै बुझ्नुपर्छ’, नेता पुनले भने ।

नेता पुनले आफू राष्ट्रवादी र बाँकी सबै अराष्ट्रवादी देखाउन जायज नाजायज काम नगर्न पनि एमाले नेतृत्वलाई सुझाएका छन् । नेपालको भू-राजनीतिक संवेदनशीलताको ख्याल गर्दै कोही पनि नेपाली नागरिक नागरिकताविहीन हुँनुहुँदैन भन्नेमा आफ्नो दल स्पष्ट रहेको भन्दै नेता पुनले नागरिकता ऐनमा उल्लेखित बैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा आफ्नो दलले संसदमा परिमार्जनको प्रस्ताव राखेको बताए ।

छिमेकी भारत र सार्क मुलुकको अनुभव र अभ्यास हेरेर अंगीकृत नागरिकताको प्रावधानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा उनले जोड दिए । ‘कोही पनि जनागरिक नागरिकता विहीन हुुनुहुँदैन । सबैले नागरिकता पाउनुपर्छ’, उनले भने, ‘भारततसहित सार्क मुलुकको अनुभव हेरेर वैवाहिक अंगीकृतको सावलमा अहिले गरिएको व्यवस्था परिमार्जन गर्नुपर्छ ।’ सरकारले समेत प्रतिबद्धता जनाएकाले सबै मिलेर अंगीकृत नागरिकताको प्रावधान परिमार्जन गर्नुपर्ने उनको भनाई छ ।

यस्तै नेता पुनले नेपालको राजनीति दुई दलीय नभई दुई ध्रुबीय बन्दै गएको पनि बताएका छन् । नेपाली समाज क्रमशः वामपन्थी र प्रजातान्त्रिक विचारधारामा ध्रुबीकृत हुँदै गएको भन्दै विचार मिल्नेहरु एक ठाउँ उभिनु जायज भएको उनको भनाई छ ।

प्रगतिशील वामपन्थी र क्रान्तिकारी ध्रुवको नेतृत्व आफ्नो दलले गरेको र प्रजातान्त्रिक ध्रुवको नेतृत्व कांग्रेसले गरेको उनको भनाई छ । वामपन्थी ध्रुवलाई बलियो र सशक्त बनाउन आफ्नो दलले वामपन्थी र प्रगतिशीलहरुको समाजवादी मोर्चा निर्माणको प्रयास अघि बढाइसकेको पुनले बताए । एमाले भने ती ध्रुवमा नभई बीचमा उभिएको आरोप पुनको आरोप छ ।

प्रतिक्रिया सबै