संघीय निर्वाचनमा दलालहरु आउने खतरा बढ्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब संघीय निर्वाचनमा क्रान्तिकारीहरूले चुनाव लडेर, जितेर आउने भनेको सपना जस्तो भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले दलाल पुँजीपतिहरू, नोकरसाह पुँजीपति, भ्रष्टहरू निर्वाचन जितेर आउने खतरा दिनप्रतिदित बढेको बताए ।
निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत दलहरूसँग छलफल गरिने बताउँदै उनले भने, ‘अब क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो। आउने दलाल पुँजीपतिहरू आउने भए। नोकरसाह पुँजीपति आउने भए। भ्रष्टहरू आउने भए’, अध्यक्ष प्रचण्डले भने, ‘त्यो खतरा दिनप्रतिदित बढ्दो छ । यसलाई विषय बनाएर हामीले गहिरो गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भएका राजनीतिक दलहरू भित्र पनि छलफल गर्न आवश्यक छ । ठूलो आन्दोलन गर्नुपर्ने भयो । नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरीमा लैजान्छ।’
मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च चलखेल हुने गरेको प्रचण्डको भनाई छ । ‘हाम्रो अर्को सिस्टम पनि देशको अनुकूल छैन । शासन प्रणालीको दृष्टिकोणले पनि देशको अनुकूल छैन । सांसद हुने बेलामा करोडौं खर्च गरेर किन हुन्छ त मान्छे ? किनभने सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्छन् । सांसद भएपछि मन्त्री हुनपनि चल्नुपर्यो अनेक खालका खेलहरू । मन्त्री भएपछि लगानी उठाउनुपर्यो’, अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहीत छ। यसलाई हामीले रिजर्भ राखेका छौँ। माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रूपले बोल्ने आधार छ। हामीले यो प्रणालीबाट जनताले पाउनुपर्ने कुरा पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखेका छौँ।’
यस्तै, प्रचण्डले प्रदेश र संघको निर्वाचनमा विचार मिल्नेहरूसँग एकता सम्भव बनाउने गृहकार्य भइरहेको बताए । अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई समेत कसिलो बनाउँदै विचार मिल्नेहरूबीच सहकार्यका निम्ति प्रयास भइरहेको बताए । ‘गठबन्धन न्यायोचित रूपले हुनुपर्छ सबैलाई न्याय हुनुपर्छ भन्ने नै छ। तर विचार मिल्नेहरूसँग सहकार्य राम्रो हुनुपर्छ भन्ने पनि छ । विचार मिल्नेहरूसँग सहकार्य गरेर गठबन्धनलाई बलियो बनाउनेगरी बल गरिएको छ ।’
उनले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै यस प्रणालीलाई परिमार्जन गर्नेगरी बहस अघि बढाइनुपर्ने बताए । ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ’, उनले भने, ‘गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो।’
यस्तै प्रचण्डले माओवादी केन्द्र बलियो नभएसम्म उत्पीडित वर्ग र समुदायको उत्थान नहुने जिकिर गरेका छन् । उनले आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनेगरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।