किन झुन्डिएका थिए तीन किशोरी ?

काठमाडौं । झापामा तीनजना किशोरी एउटै रुखमा मृत भेटिएको घटना रहस्यमय बन्दै गएको छ । घरबाट परिवारलाई घुम्न जाने भन्दै हिँडेकी कचनकवल गाँउपालिका–५, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी एउटै रुखमा झुन्डिएर मृत फेला परेको घटनाको कारण खुल्न सकेको छैन ।
प्रहरीका अनुसार मृतक तीनजना किशोज्ञरी शनिबार दिउँसो १२ बजे घरमा परिवारलाई घुम्न जाने भन्दै हिँडेका थिए । आइतबार बिहान कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले तीनै जनाले आत्माहत्या गरेको खुले पनि कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकको भनाई छ ।
‘पोष्टमार्टको रिपोर्ट फर्मल्ली आइसकेको छैन । हामीले अनौपचारिक रुपमा बुझ्दा आत्माहत्या बाहेक अन्य देखिएको छैन् । मृत्यु शंकास्पद देखिएको छैन् । प्रहरीको तर्फबाट गर्नुपर्ने अनुसन्धान, कर्तव्य ज्यानतर्फ केही छ की भनेर बुझ्यौँ, सबै सामान्य छ’, उनले भनेका छन् ।
प्रहरीले अहिले परिवार छरछिमेकसँग पनि मृतक किरोशीबारे थप सोधपुछ गरिरहेको जनाएको छ । बेलुका अबेरसम्म घर नफर्र्किएपछि परिवारले प्रहरीलाई खबर गरेर खोजीकार्य सुरु गरिएको थियो ।