३० भाद्र २०८०, शनिबार Saturday 16 September, 2023

पूर्वअर्थमन्त्रीमाथि छानबिन : प्रहरीले बुझायो सीसीटीभी फुटेजको रिपोर्ट

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटीभी फुटेजको विवरण संसदीय छानविन विशेष समितिलाई बुझाएको छ । प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुनेछ ।

सदस्य सीताराम महतोका अनुसार अब भोलि बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुनेछ । बजेट निर्माण प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा निर्क्यौलका लागि मन्त्रालयको सिसिटिभी फुटेज छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो ।

सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो । यस विषयमा समितिले पूर्व अर्थमन्त्री शर्माको बयान लिँदा आफू जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भनेका थिए ।

मन्त्रालयको सिसिटिभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलको सम्भावना नरहेको देखेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको छ । आइतबार बसेको समिति बैठकले पूर्वी र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो ।

शर्मामाथि आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिमार्फत् राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ। त्यस प्रकरणमा छानविनका लागि संसदीय विशेष समिति गठन भएको थियो ।

समितिलाई पहिलो पटक अनुसन्धानका निम्ति १० दिनको समय थियो । त्यसअवधिमा अनुसन्धान प्रक्रिया नटुंगिएपछि ५ साउनमा समितिको म्याद थप गरिएको थियो । थपिएको साता दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी छ ।

प्रतिक्रिया सबै