प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी (भिडियो)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा उनीविरूद्ध नाराबाजी भएको छ । सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका थिए ।
कार्यक्रममा उनीहरुले प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए ।
उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवास् मुर्दावाद’ भन्दै नारा लगाएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गर्ने तीन जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक भरत बोहोराले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए । वीर सहिदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि उनले बताए । देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले पृथ्वीनारायण शाहको पालाबाट सुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भूमिकाको प्रशंसा गरेर नसकिने बताए ।
प्रधानमन्त्री देउवाले भीमसेन थापाले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि तराईको आवादी वृद्धि गरी राज्श्व वृद्धि गर्ने, बजारको व्यवस्था गरी आर्थिक कारोबार बढाउने, मानापाथीलाई प्रचलनमा ल्याई नापतौललाई व्यवस्थित गर्ने जस्ता महत्त्वपूर्ण आर्थिक सुधारका कार्यहरु गरेको बताए ।
भिडियो