मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकियो भने आश्चर्य नमाने हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिव ८ करोड मतपत्र छाप्नुपर्ने भएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्दै मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले करिव ८ करोड मतपत्र छाप्नुपर्ने जानकारी दिए ।
‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला’, उनले भने । उनले निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको बताए ।
निर्वाचन आयुक्त थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने पनि बताए । ‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन’, उनले भने ।
आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।
स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च
वैशाख ३० गते एकै चरणमा भएको स्थानीय तह निर्वाचनमा ५ अर्ब रुपैयाँ खर्च भएको आयोगले जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट ८ अर्ब ११ करोड निकासा भएको थियो ।
जसमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । उनले विनियोजितमध्ये निर्वाचन आयोगको केन्द्रीय कार्यालयले १ अर्ब २ करोड ४३ लाख १२ हजार १२९ रुपैयाँ खर्च गरेको बताए ।
त्यस्तै, देशभरका ७५३ वटै मुख्य निर्वाचन अधिकृत तथा अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ खर्च भएको छ ।
पौडेलका अनुसार देशभरका ७७ वटै निर्वाचन कार्यालयले ४१ करोड ३३ लाख ०७ हजार ३१ रुपैयाँ खर्च गरेका छन् । गृहमन्त्रालयले मतपेटिका ढुवानीका क्रममा ४ करोड ५० लाख रुपैयाँ खर्च गरेको पौडेलले पत्रकार सम्मेलनमा बताए ।
निर्वाचनका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिडिया अनुगमनका नाममा १ करोड ४५ लाख खर्च गरेको छ । यी सबै जोड्दा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ वैशाख ३० गतेको निर्वाचनमा खर्च भएको पौडेलको भनाई छ । आयोगले निर्वाचनका लागि सरकारसँग ८ अर्ब रुपैयाँ मागेको थियो । जसमध्ये खर्च नभएको ३ अर्ब ६ लाख ९६ जजार ७ सय २४ रुपैयाँ राज्यकोषमै फिर्ता गरिएको उनले बताए ।
यस्तै, आयोगले सरकारले व्यवस्था गरिदिए विद्युतीय मेसिनबाट मतदान गराउने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले यसबारे सरकारलाई जानकारी गराइसकेको बताए ।
विद्युतीय मेसिनबाट मतदान गराउने कुरा नेपाली उखान आकाशको फल आँखा तरी मर भन्ने जस्तै हुने खतरा रहेको उनले उल्लेख गरे । यस्तै निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा आयोगलाई सहयोग गर्नपनि आग्रह पनि उनले आग्रह गरे ।