११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, सरकारलाई तीन अर्ब फिर्ता

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । वैशाख ३० गते एकै चरणमा भएको स्थानीय तह निर्वाचनमा ५ अर्ब रुपैयाँ खर्च भएको छ । मंगलबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले गत वैशाख ३० गते एकै चरणमा भएको स्थानीय तह निर्वाचनमा ५ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट ८ अर्ब ११ करोड निकासा भएको थियो । जसमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । उनले विनियोजितमध्ये निर्वाचन आयोगको केन्द्रीय कार्यालयले १ अर्ब २ करोड ४३ लाख १२ हजार १२९ रुपैयाँ खर्च गरेको बताए ।

त्यस्तै, देशभरका ७५३ वटै मुख्य निर्वाचन अधिकृत तथा अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ खर्च भएको छ ।

पौडेलका अनुसार देशभरका ७७ वटै निर्वाचन कार्यालयले ४१ करोड ३३ लाख ०७ हजार ३१ रुपैयाँ खर्च गरेका छन् । गृहमन्त्रालयले मतपेटिका ढुवानीका क्रममा ४ करोड ५० लाख रुपैयाँ खर्च गरेको पौडेलले पत्रकार सम्मेलनमा बताए ।

निर्वाचनका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिडिया अनुगमनका नाममा १ करोड ४५ लाख खर्च गरेको छ । यी सबै जोड्दा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ७६७ रुपैयाँ वैशाख ३० गतेको निर्वाचनमा खर्च भएको पौडेलको भनाई छ ।

आयोगले निर्वाचनका लागि सरकारसँग ८ अर्ब रुपैयाँ मागेको थियो । जसमध्ये खर्च नभएको ३ अर्ब ६ लाख ९६ जजार ७ सय २४ रुपैयाँ राज्यकोषमै फिर्ता गरिएको उनले बताए ।

प्रतिक्रिया सबै