१६ मंसिर २०८०, शनिबार Saturday 2 December, 2023

भाइ-बुहारीको हत्या दाजुले नै एक लाख दिएर गर्न लगाएको खुलासा

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ । भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो । भाइ-बुहारीको हत्याको समयमा उनी घरमै रहेको खुलेको छ ।

बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसार उनलाई घरबाटै पक्राउ गरेर सोधपुछ गर्दा आफूले एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको तथ्य स्वीकारेको हो । विजयले भाइ-बुहारीको हत्याका लागि एक लाख दिएर भाडामा प्रयोग गरेका अभियुक्तहरूबारे प्रहरीले विस्तृत खुलाइसकेको छैन ।

घटनाबारेमा अहिले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताए । प्रहरीका अनुसार पत्नी अञ्जली घरभित्र र पति कृष्ण घर बाहिर मृत भेटिएका थिए । प्रहरीका अनुसार घटनास्थलमा चुँडिएको डोरी भेटिएको थियो ।

त्यस्तै, घटनास्थल रगताम्य थियो । घटनाका क्रममा ज्यान गुमाएका र आक्रमणमा संलग्नबीच घम्साघम्सी भएको देखिएको थियो । कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट देखिएको थियो । त्यस्तै, पत्नीको घाँटीमा डोरी भेटिएपछि प्रहरीले हत्या अनुमानसहित अनुसन्धान अघि बढाएको थियो ।

मृतक दम्पतीको शरीरमा चोट र घटनास्थल रगताम्य देखिएपछि दाजुसहितका शंकास्पदमाथि प्रहरीले अनुसन्धान थालेको थियो । डीएसपी न्यौपानेका अनुसार हत्याका योजनाकार दाजु र उनकी श्रीमती घरमै थिए । उनीहरुका बाबुआमा एक साताअघि नै बोलबम तीर्थयात्राका लागि भारततिर गएका थिए ।

प्रतिक्रिया सबै