कराँतेका दुई प्रशिक्षकद्वारा एक किशोरीमाथि बलात्कार, भिडियो बनाएर ब्ल्याकमेलिङ

काठमाडौं । कराँतेका दुई प्रशिक्षकले नसालु पदार्थ खुवाएर एक किशोरीमाथि बलात्कार गरेको खुलेको छ । बलात्कार आरोपमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षकले पीडित किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसको भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको खुलेको हो ।
विराटनगरको एउटा कलेजमा स्टाफ नर्स पढिरहेकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू दुवै जना राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका प्रशिक्षक हुन् ।
पक्राउ परेका आरोपीमध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामै गएर जबरजस्ती गरेको आरोप छ । त्यसअघि नसालु पदार्थ खुवाएर बलात्कार गरेको भिडिओ बनाएर सार्वजनिक गरिदिने डर देखाउँदै सुवेदी र राउतले पटक/पटक बलात्कार गरेको पनि आरोप छ ।
प्रहरीका अनुसार एक वर्ष अघिदेखि ती किशोरी र सुवेदी परिचित थिए । कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए । सहयोग गरेको बहानामा गएको जेठमा सुवेदी किशोरीको कोठामा गएका थिए । पहिला नै चिनजान भएकाले उनीहरूले त्यहीँ मादकपदार्थ सेवन गरेका थिए ।
कोठाबाहिर किशोरी पानी लिन गएको मौका छोपी सुवेदीले मापसे गर्नुभन्दा अगाडि ती युवतीलाई नसामा लठ्ठ बनाउन बियरमा केही औषधी हालेर पिलाइदिएका थिए ।
त्यसपछि युवती होसमा नभएको अवस्थामा बलात्कार गरेको र भिडिओ खिचेको अनि त्यही भिडिओ देखाएर सुवेदी र उनका साथी विनोद राउतले उनीमाथि जबरजस्ती गरेको पाइएको प्रहरीले बताएको छ ।
पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ- ‘गएको जेठमा उनले विराट नर्सिङ होम अगाडिको एक होटलमा लगेर जबरजस्ती करणी गरे ।’ डेरामा सुवेदीले जबरजस्ती गरेपछि भिडिओ बनाएको र हल्ला गरे सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए । हल्ला गरे भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै सुवेदी र राउतले त्यसपछि पटक-पटक होटलमा लगेर जबरजस्ती गरेको जाहेरीमा उल्लेख छ ।