५ फाल्गुन २०८०, शनिबार Saturday 17 February, 2024

दिल्लीमा आरजु र भाजपाका नेता विजयीबीच भेट

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । उपचारका लागि तीन सातादेखि भारतको नयाँदिल्लीमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा र भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजुसँग बुधबार भेट भएको चौथाइवालेले तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । ‘६ महिनापछि दिल्लीमा आरजु राणा देउवालाई भेट्दा खुसी लागेको छ’, उनले लेखेका छन् ।

आरजुले गत वर्ष नेपाल आएका चौथाइवालेलाई राखी बाँधिदिएकी थिइन् । केही दिनअघि दिल्लीमा आरजुको शल्यक्रिया भएको थियो । आरजुले फेसबुकमार्फत आफ्नो शल्यक्रिया गरिएको जानकारी दिएकी छन् । म्याक्स अस्पतालमा आरजुको पाठेघरसम्बन्धी शल्यक्रिया गरिएको उनका एक चिकित्सकको भनाई छ ।

आरजुले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि प्रा.डा. हरित चतुर्वेदी र डाक्टर कन्किता बत्रा मोदीलाई धन्यवाद दिएकी छन् । असार अन्तिममा दिल्ली गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आरजुबीच दिल्लीस्थित नेपाली दूतावासमा भेट भएको थियो ।

सो भेटबारे प्रचण्डले स्वदेश फर्केपछि आरजु उपचारका क्रममा रहेको र दूतावासमा आफ्नो भेट भएको बताएका थिए । प्रचण्डले आरजुलाई आफूले भेटका क्रममा स्वास्थ्यलाभ कामना गरेको बताए । प्रचण्ड र आरजुबीच दिल्लीमा भेटवार्ता भएका तस्बिर सार्वजनिक भएपछि नेपालको भावी राजनीतिबारे विभिन्न कोणबाट छलफल भएको दाबीसमेत भएको थियो । प्रचण्डले भने सो कुरा अस्वीकार गरेका थिए ।

प्रतिक्रिया सबै