उमेर घटाएर जागिर खाने डीएसपी रमेश सिंहलाई ८ महिना कैद

काठमाडौं । उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई ८ महिना कैद हुने भएको छ । विशेष अदालतले उनलाई कीर्ते कागजातको कसुरमा यसअघि नै दोषी ठहर गरेपनि सजाय निर्धारण हुन भने बाँकी थियो ।
पूर्णपाठ सार्वजनिक भएसँगै सिंहलाई ८ महिना कैद सजाय तोकेको प्रस्ट भएको हो । उनलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुने फैसलामा उल्लेख छ । डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाण पत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेको हो ।
२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए। तर लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो । आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएको विशेष अदालतले जनाएको छ ।
सुरुमा सिंहले एसएलसीको चारित्रिक प्रमाण पत्र नै नक्कली बनाएका थिए । पछि त्यसैका आधारमा नागरिकताको प्रतिलिपि पनि लिएको खुलेको हो ।